Table of Contents
भूकम्प प्रतिरोधी घर बनाउने उपायहरु
नेपाल समुद्री सतहभन्दा १५ सय मिटरको उचाईमा अवस्थित रहेको हुँदा भूकम्पीय दृष्टिकोणले संसारका अति जोखिमपूर्ण क्षेत्रमा अवस्थित रहेको देखिन्छ। तसर्थ, भवन निर्माण गर्दा निर्माण सामग्री छनौटदेखि लिएर घर सम्पन्न गर्दासम्म अपनाउनु पर्ने सावधानी र सुरक्षा व्यवस्थामा विशेष ध्यान दिनुपर्ने देखिन्छ।
भवनमा क्षति नपुगोस् भनेर इन्जिनियरले नियमित आकारको घर बनाउन सुझाव दिएका हुन्छन् । भूकम्प को धक्का पर्दा जग्गाको बनोटको हिसाबमा अनियमित आकारको लागि दबाब नदिनुहोस् ।
भूकम्प आउँदा जमिनमा ठूलो कम्पन महसुस हुन्छ र भौतिक संरचना प्राय: ठाडो भन्दा तेर्सो अवस्थामा हल्लिछन् । त्यसैले निर्माणका बेला जग निमार्णमा विशेष ध्यान पुर्याउनुपर्छ । भूकम्प को धक्का पर्दा त्यसको प्रभाव चारैतिर समान रुपमा वितरण भएर भवनमा क्षति नपुगोस् भनेर इन्जिनियरले नियमित आकारको घर बनाउन सुझाव दिएका हुन्छन् । जग्गाको बनोटको हिसाबमा अनियमित आकारको लागि दबाब नदिनुहोस् । आपतकालीन अवस्थाका लागि एकभन्दा बढी विकल्प राख्नुहोस् ।यसबाहेक घरलाई एक सिङ्गो ढिक्काको रुपमा निर्माण गर्नुहोस् । यसका लागि बीच-बीचमा बिम हाल्न सकिन्छ ।
भूकम्प प्रतिरोधी निर्माणका लागि यो कुराहरुमा ध्यान दिनुहोस् ।
१. उपयुक्त स्थानको छनौट
भवन निर्माण उपयुक्त स्थानको छनौटबाट शुरु हुन्छ त्यसैले सर्वप्रथम घडेरी वा त्यस क्षेत्रको माटोको (भौगोलिक) अवस्थाबारे थाहा पाउनुपर्छ। यसका लागि माटो परिक्षण गर्नुपर्ने हुन्छ । माटो परिक्षणबाट घर बनाउन योजना गरिएको उक्त ठाउँ उपयुक्त छ या छैन थाहा पाउन सकिन्छ, जगको उचित प्रकार र गहिराईको विश्लेषण गर्न सकिन्छ, घर कति तलाको बनाउन मिल्छ र आकार कस्तो हुनुपर्छ, कुन साइजको डण्डी प्रयोग गर्नुपर्छ भन्ने जस्ता महत्वपूर्ण जानकारी हासिल गर्न सकिन्छ ।
भवन निर्माणको लागि अनुपयुक्त मानिएका स्थानहरु:
- पानीको दलदल भएको स्थान
- धेरै भिरालो जमिन, ढुंगा खस्न सक्ने स्थान
- नदी र खोला किनारका स्थान
- कालो र कमजोर माटो भएको स्थान
- जमिनमा लामो र गहिरो चिरा देखा परेको स्थान
- अग्ला र जरा फैलने जातका रुख नजिकको स्थान
यस्ता स्थानहरुमा घर निर्माण गरेमा बाढी, पहिरोले घर बगाएर लग्ने, भूकम्पको सानो धक्कामा पनि ठूलो क्षति पुग्ने, जग कमजोर हुने हुँदा घर भत्किने जस्ता विभिन्न समस्या आउन सक्छन् ।
२. उचित आकारको छनौट
भूकम्प आएको बेला घर कसरी हल्लिन्छ भन्ने तथ्यको आधारमा उचित आकारको डिजाइन गर्नुपर्छ। सकेसम्म नियमित आकार मात्र रोज्नुपर्छ । यसका लागि घरको लम्बाइ तथा चौडाईको अनुपात भने मिलेको हुनुपर्छ । धेरै लामो संरचना बनाउनुपर्ने भएमा बीचमा जोर्नी राख्नुपर्छ। यसो गर्नाले घर बढी बलियो र सुरक्षित बन्छ ।
३. सुरक्षित पिलर सिस्टमको निर्माण
पिलर गाउँघरको थाम जस्तै हो। थाम सबैभन्दा बलियो हुन्छ। आधुनिक घरमा पनि यही नियम लाग्छ। हात्तीपाइलेमा अड्याएर पिलर ठड्याइन्छ। मानिसको शरीरको मांसपेशीलाई हड्डीले थामेजस्तै घरको सबै बोझ पिलरले बोक्छ। त्यसैले पिलर सधैं नब्बे डिग्री मा ठडिनुपर्छ। घरको मजबुतीको आधार पिलर हो त्यसैले डन्डीमा कहिल्यै कञ्जुस्याइँ गर्नुहुन्न। पिलरको साइज पनि घरको तलामै भर पर्छ।
- पिलरको साईज कम्तिमा पनि १२x१२ इन्चको राख्नुपर्छ । एक तलाको भवन भएपनि यो साइज राख्नुपर्छ ।
- पिलरमा आठवटा ठाडो डण्डी राख्नुपर्छ ।
- पिलरको पूरा लम्बाईमा ४ इन्चको फरकमा रिङ्ग राख्नुपर्छ ।
- पिलरहरु एउटै ग्रिड लाईनमा राख्नुपर्छ र सबै पिलरलाई बिमले जोड्नुपर्छ ।
- सबै पिलर जगबाट निरन्तर उठेको हुनुपर्छ ।
- प्रत्येक तला र जगबाट बीमहरुको एउटै लेबल हुनुपर्छ ।
- ढलानको लागि मिश्रण बनाउँदा सिमेन्ट, बालुवा र गिट्टीको अनुपात मिलेको हुनुपर्छ ।
- कम्तीमा सिमेन्ट १ भाग, बालुवा १.५ भाग र गिट्टी ३ भागको अनुपातमा मसला बनाउनुपर्छ । यो भन्दा कमजोर मसला बनाउनु हुँदैन ।
यसबाहेक पिलर, बिम, स्लाबको लागि राखिने फर्मा नयाँ, बलियो र सम्म परेको सतह भएको हुनुपर्छ । भाइब्रेटर प्रयोग गर्दा बिम र पिलरको जोर्नीमा विशेष ध्यान दिनु जरुरी छ । ढलान गरेपछि यसलाई ७ देखि १० दिन सम्म चिसो पारी राख्नुपर्छ । पिलरहरुमा भिजेको जुटको बोराले बेरेर राख्नुपर्छ ।
४. निर्माण सामग्रीको छनौट
भवन निर्माण गर्दा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तरले भवन संरचनाको दिगोपनमा ठूलो भूमिका खेल्छ त्यसैले निमार्ण सामग्री खरिद गर्दा त्यसले नेपाम गुणस्तर वा अन्तर्राष्ट्रिय गुणस्तर प्राप्त गरेको छ / छैन राम्ररी हेर्नुपर्छ । निर्माणमा प्रयोग हुने सिमेन्ट, बालुवा, छड, इँटा खरिद गर्दा यी कुरामा ध्यान दिनुहोस् ।
सिमेन्टको गुणस्तर
सामान्यतया बजारमा ओ.पी.सी., पी.पी.सी., छिटो जम्ने, ढिलो जम्ने, सेतो सिमेन्ट पाइन्छ । यी सबै खालका सिमेन्टहरु गुणस्तर चिन्ह प्राप्त हुनुपर्छ । ताजा र सामान्यतया उत्पादन मितिबाट २ महिना ननाघेको, सेट नभएको वा डल्ला नपरेको हुनुपर्छ ।
बालुवाको गुणस्तर
बालुवा सफा र दानादार, जैविक पदार्थ र फोहोर नमिसिएको, चिसोपन अर्थात पानीको मात्रा नभएको, टल्कने खालका पदार्थ नमिसिएको र हातमा बालुवा लिएर मुठ्ठी बनाएर मुठ्ठी खोल्दा हातमा माटो जन्य पदार्थ नमिसिएको हुनुपर्छ ।
रोडा र गिट्टीको गुणस्तर
रोडा र गिट्टी ढुंगा खानी वा खोलाको ढुंगा कुटेर तयार गरिएको कडा र कोणात्मक आकारको, गोलाकार, लाम्चो, पातलो आकार नभएको र चिल्लो सतह नभएको, जैविक पदार्थ तथा फोहोर नमिसिएको हुनुपर्छ ।
- ४ इञ्च मोटो ढलानको लागि ३.४ इञ्च भन्दा सानो हुनुपर्छ ।
- २ देखि ४ इञ्च मोटो ढलानको लागि १.२ इञ्च भन्दा सानो हुनुपर्छ
पानीको गुणस्तर
पानी प्रयोग गर्दा सकेसम्म सफा, तेल, अम्लीय पदार्थ र जैविक पदार्थ नमिसिएको पिउन योग्य पानीको प्रयोग गर्नुहोस् ।
फलामे छड (डण्डी) को गुणस्तर
फलामे छड खरिद गर्दा कुन ग्रेडको छड हो हेर्नुपर्छ । साथै नेपाल गुणस्तर र अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह को जाँच गर्नुपर्छ । यस्तै छड एकनासको मोटाई वा व्यास भएको हुनुपर्छ र निश्चित अन्तरालमा उत्पादक कम्पनीको छाप भएको छ हुनुपर्छ । खिया नलागेको, पूरै लम्बाईमा चिरा नपरेको, तेल, ग्रीज नलागेको छड प्रयोग गर्नाले निर्माण बलियो बन्छ । नेपाली परिवेशमा 500 D ग्रेडको छड प्रयोग गरे त्यसले अधिक Ductility का कारण अधिक सुरक्षा प्रदान गर्न सक्छ ।
इँटाको गुणस्तर
इँटा एकैनासको आकार, साइज र चिल्लो सतह भएको, राम्ररी पाकेको र सबैतिर एकैनासको रातो रङ्ग भएको हुनुपर्छ । इँटामा नङले कोतार्दा नकोरिने, दुइटा इँटा आपसमा ठोक्काउदा धातुको जस्तो गुन्जिने आवाज आउने हुनुपर्छ । इँटालाई एक मिटरको उचाईबाट खसाउँदा नफुट्ने हुनुपर्छ ।
निर्माण सामग्रीको गुणस्तर बाहेक जग्गाको स्थान र प्रकृति हेरी प्रचलित भवन निर्माण मापदण्ड तथा राष्ट्रिय भवन संहिता पालना गरी इन्जिनियरको सहयोगमा उचित डिजाइन अनुसारको नक्शा तयार पार्नुपर्छ । स्वीकृत आर्किटेक्चरल र स्ट्रक्चरल नक्शा बमोजिम चरणवद्ध रुपमा इन्जिनियरद्वारा निर्माण सामग्री र निर्माण प्रक्रियाको गुणस्तर निरीक्षण गराउनु पर्छ । निर्माण क्रममा साना-साना कुरामा पनि ध्यान पुर्याउनुपर्छ । केहि पैसा जोगाउने निहुँमा आवश्यक जाँच नगरे भोलि ठूलो क्षति व्योहोर्नु पर्ने हुन सक्छ ।
References
5 Tips to Building an Earthquake-Resistant Structure
घर बनाउँदा घरधनीले जान्नै पर्ने न्युनतम प्राबिधिक मार्गदर्शन सार्वजनिक