घर बनाउँदा कस्तो छड रोज्ने? किन्दा हेर्नैपर्ने कुरा के-के हुन् ?

घर मानव जीवनको एक अमूल्य सपना हो । जुन सपना पूरा गर्न  उसले आफ्नो जीवनभरको कमाई लगाएको हुन्छ । “घर” घर मात्र नभई मानिसको आत्मा संग जोडिएको एक अंश हो। यसको हरेक अंशसँग मानिसको आत्मीय सम्बन्ध गाँसिएको  हुन्छ। यसरी आत्मीय सम्बन्ध भएको यसको निर्माणमा ध्यान नपुर्याउँदा त्यसले ल्याउने क्षतिको पीडा हामीलाई कति पनि सह्य हुँदैन । त्यसर्थ घर निर्माण गर्दा लाग्ने सामाग्रीहरुको सम्पूर्ण जानकारी भइराख्नु पर्दछ।

हाम्रो जस्तो विकासोन्मुख मुलुकमा र पछिल्लो समय देश संघियतामा गए यता विकासका पूर्वाधार निर्माणका कार्यहरु दिनानुदिन बढिरहेको छ ,जसको प्रत्यक्ष प्रभाव निर्माण सामाग्री उत्पादन गर्ने कम्पनीहरुमा पनि देखिएको छ। विकासको गति द्रुत हुँदै गए संगै निर्माण सामाग्री उत्पादन गर्ने कम्पनीहरुको संख्यामा पनि बृद्धी भईरहेको छ । फलस्वरूप वजारमा प्रतिस्पर्धा गर्ने होडबाजीमा कमसल वस्तु को विक्री वितरण बढ्न सक्छ, तसर्थ उपभोक्ताले यस बारे पूर्ण जानकार भई सही फलामे छड रोज्न सक्नुपर्दछ।

फलामे छड रोज्दा वा किन्नु पर्दा के के कुरामा बिचार पुर्याउने त ?

१. फलामे छडको गुणस्तर

एउटा गुणस्तरीय  फलामे छडले मात्रै बलियो घर निर्माणमा  सहयोग पुर्याउंदछ । हाम्रो  जस्तो विकासोन्मुख मुलुकमा फलामे छड उत्पादन गर्ने कम्पनीको संख्या हाल च्याउ सरि फैलिरहेकोअवस्थामा गुणस्तरयुक्त फलामे छड रोज्न सक्नु एक महत्वपूर्ण चुनौतीको बिषय बनेको छ । तसर्थ बजारमा पाईने फलामे छडहरुको गुणस्तर अन्तर्राष्ट्रिय गुणस्तर विभागका साथै  नेपाल सरकारको गुणस्तर तथा नापतौल विभागबाट मापन गरीएको हुन्छ भन्ने कुरा बारे ज्ञात हुनु पर्दछ। विभागले फलामे छडको निर्माणमा प्रयोग भएका रसायन वा कच्चा पदार्थको बिस्तृतरूपमा जाँच गरी NS:191, ISI, ISO जस्ता गुणस्तर चिन्ह प्रदान गर्दछ । अत: घर निर्माणका लागि गुणस्तरयुक्त  फलामे छड रोज्न अत्यन्तै जरूरी हुन्छ।

२.फलामे छडको ग्रेड

जसरी देशले विकासको गति लियो भूकम्प जस्तो प्राकृतिक प्रकोपको साम्नना गरेर अघि बढ्दै गयो, घर निर्माण गर्ने प्राविधिक  तथा निर्माणकर्ताको  ध्यान पनि दिगो र बलियो घर निर्माण गर्नुपर्छ भन्ने तर्फनै मोडियो त्यसैले फलामे छड उत्पादक कम्पनीहरुले पनि उच्च ग्रेडको छड निर्माणमा बिषेश ध्यान दिएको पाइन्छ । तपाईले पनि घर निर्माणका लागि उचित ग्रेडको फलामे छड छान्न सक्नु पर्दछ । नेपाली बजारमा Fe415 , Fe500 र Fe500D जस्ता ग्रेड भएका फलामे छड पाइन्छन्।यी ग्रेडहरुको आ आफ्नै बिशेषता हुन्छन्।जस्तै fe 415 मा न्यूनतम 415 यिल्ड क्षमता ,४८५ टेन्साईल क्षमता १४.५% इलान्गेसन हुन्छ भने Fe500 र Fe500Dमा भने  न्यूनतम यिल्ड क्षमता ५००, टेन्साईल क्षमता ५४५ र ५६५ त्यस्तै इलान्गेसन १२ र १६% क्रमश रहेको हुन्छ। यसरी फलामे छडको ग्रेड थाहा हुँदा बलियो निर्माण सहितको घरमा आरामका साथ् बस्न सकिन्छ ।

३. फलामको लचकता

घरको लागि छड किन्नुपर्दा अहिलेको अवस्थामा एकदमै ख्याल गर्नुपर्ने बिशेषता भनेको फलामको लचकता हो । हुनत  फलामको लचकतालाई लिएर पहिले पनि विचार नगरिएको भने हैन तर २०७२ सालको विनाशकारी भूकम्पले यसको महत्व अझ बढी महसुस गराएको छ। स्थिर वा लचकता नभएका छडको अत्याधिक प्रयोगकै कारण नै ठूल्ठूला संरचनाका  साथै करिब ९००० मानवीय क्षति भएको थियो । त्यो कालखण्ड  सम्झिँदा पनि जोकोहीको मन सिरिङ्ग हुन्छ । अत: सो काल खण्डलाई  साक्षी मानेर पनि घरको फलामे छडको  लचकता सबैले विचार गर्नुपर्छ । फलामको लचकता भन्नाले कति भार पर्दा सम्म नभाँचिकन तन्किन सक्ने क्षमता हो । जस्तै बाहिरी कम्पनले घरमा धक्का दिँदा सोही धक्काको गतिमा हल्ली पछि फेरी स्वत: स्व:स्थानमा खडा हुन सक्ने क्षमता लाई लचकताको रुपमा बुझ्न सकिन्छ। यस्ता लचकता भएको फलामे छडलाई “D” ले इंगित गरिन्छ , जसमा D भनेको Ductility वा लाचकपना हो । अत; घरलाई बिभिन्न भूकम्पीय प्रकोपबाट सुरक्षित बनाउन fe500D अंकित फलामे छडको प्रयोग गर्नु पर्दछ ।

४. फलामको आकार :

घर निर्माणमा सबै एकै खाले फलामे छडको प्रयोग हुँदैन । फलामे छडहरु 8,10,12,16,20,25,28 र 32mm जस्ता विभिन्न आकारमा पाइन्छन्। घरको संरचना हेरी विभिन्न भागमा भिन्न भिन्न आकारका फलामे छडको प्रयोग गर्नु पर्दछ । साधारणतया घरका पिल्लर निर्माणका लागि 12 तथा 16mm छड प्रयोग गरिन्छ भने स्ट्राप बिममा 20mm  छडको प्रयोग गरिन्छ र त्यस्तै ढलानमा भने 8 वा 10mm का छडको प्रयोग गरिन्छ । तसर्थ घर निर्माण गर्दा प्राविधिकको सल्लाह अनुसारको आकार भएका छडको प्रयोग गरे घर दिगो बन्दछ ।

यसरी फलामे छडको गुणस्तर , ग्रेड, लचकता संगै आकारको बारेमा जानकार रहेर घर निर्माण गर्नु नै आफू लगायत भावी पुस्ताको सुरक्षा गर्नु हो । यसलाई नजर अन्दाज नगरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *