घर एउटा यस्तो स्थान हो जहाँ माया बस्छ, जीवनका पलहरुको रङ्ग झल्किन्छ, आफ्नोपनको आभास हुन्छ त्यसैले हेरक व्यक्तिले आफ्नो जीवनमा एउटा सुन्दर घरको कल्पना गरेको हुन्छ । घरको आकार, घरमा हुनुपर्ने सुविधा, घरको रङ्ग आदिमा सबैको ध्यान जान्छ तर घर उभिने माटो पनि महत्वपूर्ण हुन्छ कसैले सोचेको हुँदैन त्यसैले त माटो परीक्षण न्यून मात्रामा भइरहेको छ ।
माटो परीक्षण किन आवश्यक छ ?
माटोले हाम्रो घरलाई आधार प्रदान गरिरहेको हुन्छ। त्यस माटोमा कति भार वहन गर्ने क्षमता छ, निर्माणका लागि कति उपयुक्त छ जान्नका लागि माटो परीक्षण आवश्यक हुन्छ । परीक्षणबाट हामीले माटोको भौतिक र रासायनिक गुण थाहा पाउन सक्छौं र त्यसमा आउन सक्ने खुम्चाई (contraction), तन्काई (expansion), चाल (movement)(normally as result of change in moisture content) को आधारमा निर्माण सम्बन्धि यी निर्यण लिन सक्छौँ ।
- कस्तो निर्माण सामाग्रीको प्रयोग गर्ने
- जग कस्तो बनाउने
- माटो कम्जोर भए कति गहिराई सम्मको माटोलाई राम्रो माटोले पुर्ने वा जगलाई कसरी अझ बलियो बनाउने
- सजिलै खिया लाग्ने माटोमा कस्तो डण्डीको प्रयोग गर्ने
- भूकम्प बाट हुन सक्ने खतराको पूर्वतयारी कसरी गर्ने, आदि
त्यसैले माटोको परीक्षण / जमिनको जाँच गराइ स्ट्रक्चरल (Structural) र जियोटेक्निकल (Geotechnical) इन्जिनियरको निगरानीमा घर बनायौं भने मात्र त्यो भूकम्पप्रतिरोधी बन्छ।
माटोले हाम्रो घरलाई आधार प्रदान गरिरहेको हुन्छ। त्यस माटोमा कति भार वहन गर्ने क्षमता छ, निर्माणका लागि कति उपयुक्त छ जान्नका लागि माटो परीक्षण आवश्यक हुन्छ ।
माटो परीक्षण नगरी बनाइएका केहि ठूला निर्माणहरु निर्माणाधीन अवस्थामै पनि भत्किएको उदाहरण हामीले प्रशस्तै भेट्न सक्छौँ । यसअघिको महाभूकम्पको क्षतिले पनि संरचना बनाउनुअघि माटो परीक्षण गर्नु पर्ने र बलियो माटोमा मात्रै घर बनाउनु पर्ने पाठ सिकाइसकेको छ। कतिपय क्षेत्रमा बलियो ठानिएका घरहरु जगैदेखि गर्ल्याम्म ढले, कतिपय क्षेत्रमा कमजोर ठानिएका घरहरु पनि उस्तै रहे। यसै कारण अहिले नेपाल सरकारले पनि भवन निर्माण मापदण्ड २०७२ अन्तर्गत तीन तल्ला भन्दा अग्ला घर बनाउँदा माटो परीक्षण अनिवार्य गरेको छ ।
माटोको वर्गीकरण
माटोलाई सरल रुपमा क्ले (Clay), सिल्ट (Silt), स्याण्ड (Sand), ग्राभेल (Gravel), बौल्डर(Boulder) आदि भागमा वर्गीकरण गर्ने गरिन्छ । यिनीहरुमा देखिने बदलावका हिसाबमा विभिन्न वर्गमा राखिएको छ ।
ए (A) वर्ग – स्थिर, चिस्यानमा परिवर्तनले न्यून हलचल /कुनै हलचल नहुने । ग्राभेल, बौल्डर भएको माटो
एस (S) वर्ग – यसमा हल्का हलचल देखिन सक्छ । क्ले माटो यसको उदाहरण हुन सक्छ ।
एम (M) वर्ग – यसमा मध्यम हलचल हुन सक्छ । क्ले वा सिल्ट साइटमा यस्तो देखिन सक्छ ।
एच (H) वर्ग – यस वर्गमा धेरै हलचल देखिन सक्छ । सिल्ट साइटमा यस्तो हुने गर्दछ ।
इ (E) वर्ग – यसमा पनि अधिक हलचल हुन्छ
पी (P) वर्ग – यसलाई समस्यायुक्त साइट मान्न सकिन्छ । यस्तोमा निर्माण गर्नुअघि स्ट्रक्चरल इन्जिनियरको सल्लाह लिनु आवश्यक हुन्छ ।
माटो कम्जोर भएमा त्यहाँ घर निर्माण गर्न मिल्दैन ?
सामान्यतया: कसिलोपन तथा ढुंगा कंक्रिटको मात्रा बढी भएको जमिन घर बनाउनका लागि उत्तम मानिन्छ भने हलुका तथा कालो माटो (क्ले) अनुपयुक्त मानिन्छ। तर माटो कम्जोर भएको ठाउँमा घर नै बनाउन नहुने भन्ने चाहिं होइन। कमजोर भए जमिनमुनिको माटो बलियो बनाउनका लागि जमिनको केहि गहिराइ सम्मको माटो निकालेर इन्जिनियरहरुको सुझावअनुसार नयाँ माटो थपेर खाँद्न सकिन्छ। त्यसका अलवा हात्तिपाइले, र्याफ्ट (Raft), पाइलिङ (Piling)जस्ता विभिन्न विधिबाट पनि माटो तथा आधारलाई बलियो बनाउन सकिन्छ।
माटो कम्जोर भएको ठाउँमा घर नै बनाउन नहुने भन्ने चाहिं होइन।
हात्तिपाइले विधिमा सामान्यतः खाल्डो खनेर बलियो ढुंगामाटो थपेर सतहलाई बलियो बनाइन्छ। घरको आधार एरियालाई एउटै ढिक्कामा बाँध्नको लागि ‘र्याफ्ट’ फौण्डेसन गरिन्छ। यसका लागि आवश्यक डण्डी हाली सतह ढलान गरिन्छ। यस्तै पाइलिङ दुई तरिकाबाट गरिन्छ। एउटा ‘प्रिकास्ट पाइलिङ’ (Precast Piling) अर्को ‘कास्ट इन सिटु’ (cast-in-situ)। आवश्यक डायमिटरको प्वाल पारेर त्यसमा डण्डी हालेर ढलान गरिनु ‘कास्ट इन सिटु’ पाइलिङ हो भने प्रिकास्ट पाइलिङमा बाहिर नै पाइल तयार गरेर ह्याम्बलिङ गर्दै जमिनमा गाडिन्छ। माटो कम्जोर भएकाले कुनै पनि निर्णय लिनु अघि इन्जिनियर को सल्लाह लिन चाहिं विर्सिनुहुँदैन ।
जग्गा छनौट गर्दा ध्यान दिनुपर्ने कुराहरु
- घर बनाउन लागेको स्थानमा पहिला कुनै नदी, ताल वा पानी जम्ने स्थान त थिएन? पत्ता लगाउनुहोस्।
- भिरालो, ओशिलो, रुखका जरा धेरै भएको स्थान छ भने विशेष ध्यान दिनुहोस्।
- जियोटेक्निकल इन्जिनियरसँग सल्लाह गर्नुहोस् ।
- माटोको परीक्षण विभिन्न निकायहरुबाट गराउनुहोस् ।
- ढल,पानी आदिको निकासको व्यवस्था उचित छ कि छैन निर्क्यौल गर्नुहोस्।
- स्ट्रक्चरल नक्सा, पास भएको नक्सा, आपतकालिन अवस्थाको व्यवस्था राम्ररी उल्लेख भएको छ/छैन ध्यान दिनुहोस्
माटो परीक्षण गराएर सोही अनुरुपको डण्डी प्रयोग गर्दै बलियो जग बनाए हाम्रो संरचना लामो समयसम्म सुरक्षित रहन सक्छ ।
माटो परीक्षण कसरी गरिन्छ ?
माटोको परिक्षण केहि फिल्ड टेस्ट को रुपमा गरिन्छ भने केहि ल्याब टेस्टको रुपमा गरिन्छ । यसका लागि जियोटेक्निकल इन्जिनियरले विशेष यन्त्रको सहयोगमा घर बनाउने जग्गामा करिब ६/७ मिटरसम्म ड्रिलिङ गरेर माटो निकाली परीक्षण गर्नुहुन्छ । कति ड्रिलिङ गर्ने कुरा घरको आकारमा भर पर्छ । एउटै जग्गामा पनि माटोको तह फरक पर्न सक्ने भएकाले न्युनतम तीन ठाउँमा ड्रिलिङ गर्नु उपयुक्त हुन्छ ।
भवन निर्माणको क्रममा प्राय ४ प्रकारको परीक्षण गरिन्छ
ग्राभिटि टेस्ट (Gravity Test): यस अन्तर्गत माटो र पानीको एकाइको अनुपात निकालिन्छ । यसका लागि डेन्सिटि बोटल विधि वा पिक्नोमिटर विधिको प्रयोग गरिन्छ ।
मोइस्चार टेस्ट (Moisture Test): यस अन्तर्गत साइट बाट नमूना सङ्कलन गरी नापिन्छ र पछि ओभनमा हालेर सुख्खा पारी फेरी नापिन्छ । दुवै बीचको तौलको फरकबाट मोइस्चरको मात्रा थाहा हुन्छ ।
एटरवर्ग लिमिट टेस्ट (Atterberg Limit Test): यस अन्तर्गत मसिनो दानायुक्त माटो लिइन्छ र लिक्विड लिमिट, प्लाष्टिक लिमिट, श्रीन्केज लिमिट जस्ता पानी सँग सम्बन्धित क्षमता पत्ता लगाइन्छ।
ड्राइ डेन्सिटि टेस्ट (Dry Density Test): यस अन्तर्गत कोर कटर विधि वा सेन्ड रिप्लेसमेन्ट विधिको प्रयोग गरिन्छ ।
माटो परीक्षण गराएर सोही अनुरुपको डण्डी प्रयोग गर्दै बलियो जग बनाए हाम्रो संरचना लामो समयसम्म सुरक्षित रहन सक्छ । कुनै पनि भौतिक निर्माण शुरु गर्दा सबैभन्दा पहिले माटो परीक्षण मै ध्यान दिऊँ।
माटो परीक्षण खानी तथा भूगर्भ विभाग, पुल्चोक इन्जिनयरिङ क्याम्पस र निजी क्षेत्रबाट स्थापित सयौं ल्याबहरुबाट गर्न सकिन्छ । तलको लिंकबाट माटो परीक्षण गर्ने यस्तै केहि संस्थाको जानकारी पाउन सक्नुहुन्छ ।
https://adcampaign.com.np/classified-category/soil-test-lab/
Sources:
Image Sources: theconstructor.org
Why is soil testing a-must for your structure? – Constro Facilitator
Building A New House – Understanding Soil Tests (ibuildnew.com.au)
घर कस्तो माटोमाथि बनाउने? :: Setopati
Why Soil Testing is Important for Construction | AV Steel, Jaipur