चलनचल्तीमा रहेका सामान्य पिलरवाला (फ्रेम स्ट्रक्चरल) घरको भूकम्पीय सुदृढिकरण

नेपाल जस्ता विकासोन्मुख मुलुकहरुमा भूकम्पीय विनाशको मूल कारण नै घर भत्कनु हो । घरहरुको निर्माणका बेला दक्ष इन्जिनियरको ज्ञानको प्रयोग भएको हुँदैन जसले गर्दा ती संरचनामा भूकम्प प्रतिरोधी प्रविधिको प्रयोग भएको हुँदैन। फलस्वरूप: भुइँचालो आउँदा धनजनको ठूलो नोक्सानी हुने गर्दछ । यस्ता घरहरुमा भूकम्पीय सुदृढिकरण गरिए भूकम्पका बेलामा हुन सक्ने क्षतिलाई कम गर्न सकिन्छ । l

निम्न अवस्थामा सामान्य पिलरवाला घरको भूकम्पीय सुदृढिकरणका बारेमा सोच्नुपर्छ ।

  • आवश्यकता भन्दा सानो पिलर साइज भए
  • अपर्याप्त र मसिनो साइजको ठाडो डण्डी भए
  • बिम र पिलरमा राखिने रिंगहरु बीचको दूरी अत्यन्त बढी भए
  • बिम र पिलरको जोर्नीमा रिंगको अभाव भए
  • डण्डीहरुको बीचमा अपर्याप्त गंसाई भए
  • बिमको डण्डीलाई पिलरमा हुक गर्दा हुकको अपर्याप्त लम्बाई भए
  • गारोहरु फ्रेमसँग राम्ररी बाँधिएको नभए
  • कमसल निर्माण सामग्रीको प्रयोग भएको भए
  • निर्माण कार्य कमसल भएको भए
  • पिलरहरु सोझो लाइनमा नभएको भए
  • जग कमजोर वा अपर्याप्त भए
  • छिमेकी घरसँग जोडेर बनाउँदा घरको जग अपर्याप्त आकारको भए

संरचनागत त्रुटिका कारण भूकम्पका बेला भएको क्षतिको केहि उदाहरण

 

  • बिम पिलर जोर्नी कम्जोर भएर

     
  • पिलरमा रिंगको कमि भएर

     
  • बिमको डण्डी पिलरमा राम्ररी नघुसाइएको भएर

     
  • गारो र पिलर एक-अर्का सँग राम्ररी नबाँधिएको भएर

     
  • भुइँ तल्ला खाली छोड्ने र माथिल्लो तल्लामा धेरै गारो लगाएको भएर

     
  • बिम बलियो तर पिलर कम्जोर भएर

     
  • सँगै जोडिएर बनेको घरहरु भूकम्पमा हल्लिँदा एकआपसमा ठोक्किएर

 

पिलरवाला घरको भूकम्पीय सुदृढिकरणका लागि विभिन्न उपायहरु छन् जस्तै बेस आइसोलेसन, हाइड्रोलिक ड्याम्पर्स को प्रयोग आदि तर नेपालजस्तो देशका लागि खर्च र उपयुक्तताको दृष्टिकोणले निम्न उपायहरु प्रयोग गर्न सकिन्छ।

 

१) गारोलाई ज्याकेटिङ गर्ने

गारोको भित्रबाहिर दुवैतिरबाट ठाडो तेर्सो डण्डीको जालो लगएर प्लास्टर गर्न सकिन्छ वा मसिनो कंक्रिट थप्न सकिन्छ । यी दुवै पट्टीको जालोलाई भित्ता छेडेर ठाउँ-ठाउँमा डन्डीले बाँध्नुपर्छ । यो तरिका ३ तल्ला सम्मको भवनहरु का लागि उपयुक्त हुन्छ । यसरी ज्याकेटिङ गरेको गारो र अन्य गारोलाई फ्रेम संग बाँध्नु अति जरुरी हुन्छ ।

 

२) RCC गारो थप्ने

घरको चारैतिरबाट RCC गारो मिलाएर थप्न सकिन्छ। यस्ता ढलान गरिएका गारो दुवै दिशामा राख्नुपर्छ । यस्ता गारो कुन ठाउँमा, कति मोटो ढलान र कति डण्डी राख्ने भन्ने कुरा प्राविधिकको सल्लाह अनुसार निर्धारण गर्नुपर्छ ।

यसरी बनाएको गारो जगदेखि नै उठ्नुपर्छ र फ्रेमसंग राम्ररी बाँधिएको हुनुपर्छ । हाम्रो घरहरुमा सामान्यतया लचकपना कम भएको हुनाले यो तरिका बढी उपयुक्त हुन्छ ।

 

३) इँटाको गारो थपघट गर्ने र फ्रेमसँग राम्ररी बाँध्ने

पिलरवाला घरमा इँटा, ढुंगा वा ब्लकको गारो लगाएको हुन्छ। पिलरहरु जस्तै यस्ता गारोहरु पनि समान रुपमा चारैतिर लगाएको हुनुपर्छ । यदि यस्तो छैन भने भएको गारो हटाएर, चाहिने ठाउँमा गारो थपेर घरको भूकम्प थेग्ने क्षमता बढाउन सकिन्छ। घरको सबै गारोलाई फ्रेमसँग बाँध्न भने बिर्सिनु हुन्न ।

 

घरको भूकम्पीय सुदृढीकरण गर्दा ध्यान दिनुपर्ने विशेष कुराहरु

  • भूकम्पीय सुदृढीकरण गर्दा भएको संरचना आँशिक हटाई नयाँ संरचना थप्न पर्ने हुँदा नयाँ थपिएको र पुरानो संरचना एक आपसमा राम्ररी बाँधिनु अति जरुरी हुन्छ ।
  • भएको संरचना हटाउन अगाडि पर्याप्त मात्रामा घरलाई टेका दिनुपर्छ ।
  • भत्काउने, छेड्ने, प्वाल पार्ने काम बढी हुने हुँदा राम्रो कार्यकुशलताको जरुरी पर्छ। अन्यथा घरको भूकम्पीय क्षमता बढाउनुको साटो घट्न पनि सक्छ ।
  • घर विशेषको भूकम्पीय सुदृढीकरणका लागि प्राविधिकहरुको परामर्श तथा सुपरिवेक्षण अपरिहार्य हुन्छ, तसर्थ त्यसकै सिफारिस हुन्छ ।

Source: Retrofitting of Common Frame Structural (Pillar System) Houses, A Handbook by National Society for Earthquake Technology – Nepal (NSET)

Leave a Reply

Your email address will not be published. Required fields are marked *