13 hours ago

नेपालको अग्रणी स्टिल उत्पादक कम्पनी, जगदम्बा स्टील्स लिमिटेडले नेपाली स्टिल उद्योगको इतिहासमा एक अभूतपूर्व र ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कम्पनीले नेपालमै उत्पादित आफ्ना उच्च गुणस्तरीय उत्पादनहरू ‘जगदम्बा सुपर शाइन र जगदम्बा ग्याल्भा+’ (Galvalume Coils and Pre-Painted Galvalume Coils) संयुक्त राज्य अमेरिकामा सफलतापूर्वक निर्यात गर्न सुरु गरेको छ। यससँगै जगदम्बा स्टील्स अमेरिकामा आफ्ना स्टिल उत्पादनहरू निर्यात गर्ने नेपालकै पहिलो र एकमात्र कम्पनी बन्न सफल भएको छ।
कम्पनीको अत्याधुनिक 'सीआरएम प्लान्ट' बाट अन्तर्राष्ट्रिय गुणस्तरका मापदण्डहरू पूर्ण रूपमा पालना गरी निर्माण गरिएका यी उच्च गुणस्तरीय जस्तापाता (Steel Coils) र आकर्षक रंगका उच्च गुणस्तरीय जस्तापाताहरूले विश्व बजारमा नेपाली उत्पादनको विश्वसनीयतालाई प्रमाणित गरेका छन्।
यसअघि पनि जगदम्बा स्टील्सले आफ्ना उत्पादनहरू छिमेकी राष्ट्र भारत, श्रीलंकाका साथै अफ्रिका र युरोपेली राष्ट्र रोमानियासम्म सफलतापूर्वक निर्यात गरी अन्तर्राष्ट्रिय बजारमा आफ्नो बलियो उपस्थिति जनाइसकेको छ। भारत, एसिया, अफ्रिका र युरोप हुँदै अब अमेरिकासम्म नेपाली स्टिलको निर्यात हुनुले समग्र नेपाली औद्योगिक क्षेत्रलाई नै नयाँ उचाइमा पुर्याएको छ।
यस ऐतिहासिक सफलताको अवसरमा बोल्दै जगदम्बा स्टील्स लिमिटेडका उपाध्यक्ष अमित राज खरे, (बिक्री तथा बजारीकरण विभाग), ले भन्नुभयो, "नेपालमा उत्पादित स्टिल कोइलहरूले विश्वकै सबैभन्दा प्रतिस्पर्धी र ठूलो बजार अमेरिकासम्मको यात्रा तय गर्नु हाम्रो कम्पनीको लागि मात्र नभई सम्पूर्ण नेपालको लागि एक गौरवपूर्ण क्षण हो। हामीले 'नेपालमै उत्पादन, विश्व बजारमा पहिचान' भन्ने हाम्रो प्रतिबद्धतालाई व्यवहारमै उतारेका छौं। गुणस्तरमा हामीले गरेको निरन्तरको लगानी र सम्झौताविहीन नीतिकै कारण आज हामी अमेरिकामा आफ्ना उत्पादन पुर्याउने पहिलो नेपाली कम्पनी बन्न सफल भएका छौं।"
यस ऐतिहासिक कदमले नेपालको निर्यात व्यापारलाई प्रवर्द्धन गर्न र विश्व बजारमा नेपाली उत्पादन प्रतिस्पर्धी छन् भन्ने सन्देश दिन ठूलो भूमिका खेल्ने कम्पनीको विश्वास छ। जगदम्बा स्टील्स आगामी दिनहरूमा पनि आफ्ना उत्पादनको गुणस्तरलाई अझै परिष्कृत गर्दै अन्य नयाँ अन्तर्राष्ट्रिय बजारहरूमा आफ्नो पहिचान विस्तार गर्न प्रतिबद्ध छ।