भूकम्पीय प्रबलीकरणका विभिन्न विधिहरु

प्रबलीकरण भनेको घरको हालको क्षमता अभिवृद्धि गरी भविष्यमा आउन सक्ने भूकम्पबाट कम क्षति होस् भनी गरिने मर्मत भन्दा माथिल्लो स्तरको सुदृढीकरण कार्य हो । यसका लागि निम्न विधि अपनाउन सकिन्छ ।

१.    स्प्लिन्ट र ब्यान्डेज

यस विधिमा ठाडो र तेर्सो ढलाने ब्यान्डहरु राखिन्छ। जगदेखि छाना सम्म राखिने ठाडो ब्यान्ड स्प्लिन्ट हो भने घर वरिपरि राखिने तेर्सो ब्यान्ड ब्यान्डेज हो । स्प्लिन्ट झ्याल ढोकाको दायाँ–बायाँ  र पर्खालको सबै कुनामा राख्नुपर्छ भने ब्यान्डेज तल्लो भाग र माथिल्लो भागमा पर्ने गरी राख्नुपर्छ। पर्खालको भित्र र बाहिरको स्प्लिन्ट र ब्यान्डेजलाई जी.आई तारले बाँध्नुपर्छ। ब्यान्डमा राखिने डण्डीको मात्रा घर तथा कोठाको आकार एवं अवस्थामा भर पर्छ ।

२.    ज्याकेटिङ

गारो भित्र–बाहिर दुवैतिरबाट ठाडो–तेर्सो डण्डीको जाली लगाएर प्लास्टर गर्नुपर्छ र यी दुवै पट्टिको जालीलाई भित्ता छेडेर ठाउँ–ठाउँमा डण्डीले बाँध्नुपर्छ। यसरी ज्याकेटिङ गरेको गारो र बाँकीको गारोलाई पनि फ्रेम (पिलर वा बिम) सँग बाँध्न अति जरुरी छ ।

३.    बिम पिलर ज्याकेटिङ

बिम पिलर ज्याकेटिङ गर्दा भएको बिम र पिलरको वरिपरीबाट ठाडो डण्डी जगदेखि छाना सम्म राखिन्छ र ती ठाडो डण्डीलाई रिङले बाँधेपछि ढलान गरिन्छ । आवश्यकता अनुसार यसलाई पानीले भिजाए पिलर थप बलियो हुन्छ ।

Source: nset.org.np